एन्थ्रोपोसेनको भौगर्भिक वास्तविकतालाई स्वीकार गर्न आनाकानी गर्ने कतिपय वैज्ञानिकले यसका लागि अझ थप प्रमाण आवश्यक रहेको बताएका छन्। इन्टरनेसनल युनियन अफ जिओलोजिकल साइन्सका महासचिव तथा क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक स्टान फिन्लेले एन्थ्रोपोसेनलाई छुट्टै युगको हिसाबमा नलिईकन होलोसेनको चौथो चरण मान्न सकिने बताएका छन्।
पृथ्वीको उत्पत्तिको साढे ४ अर्बयताको पछिल्लो चरणअन्तर्गत ११ हजार ७ वर्षअघि हिमयुग (आइस एज) को समाप्तिसँगै होलोसेनको सुरुवात भएको मानिन्छ। मानव युगहरूको नामकरण पहिलोपटक जुन स्थानमा अध्ययन भएको हो, त्यही स्थानका आधारमा गरिँदै आएको छ। उदाहरणका लागि फ्रान्सको जुरा माउन्टेनमा प्राप्त अवशेषका आधारमा ‘जुरासिक पिरियड’ भनेर नामकरण गरिएको थियो। एन्थ्रोपोसेन आधिकारिकरूपमा अनुमोदन भएमा यो क्वार्टेनरी पिरियडको तेस्रो इपोक (युग) हुनेछ।
एन्थ्रोसेनको जन्मस्थान
क्र्याफोर्ड तालको पिँधमा पाइएको प्लुटोनियम अवशेषका कारण यो युगको नामकरण भएमा यसको सुरुवात पनि यही तालबाट भएको मानिनेछ। झन्डै साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल ७८.७ फिट अर्थात् २४ मिटर गहिरो छ। बेलायतको साउथहम्प्टन विश्वविद्यालयका वातावरणीय रेडियोकेमेस्ट्रीका प्राध्यापक एन्ड्रु कन्डीका अनुसार तालको भित्री थेग्रोमा प्लुटोनियम पाइनु भनेको मानवले पृथ्वीमा पारेको सबैभन्दा महत्वपूर्ण पदचिन्ह हो। तर एन्थ्रोपोसेन युगको उद्गमस्थलबारे अन्तिम निर्णय लिन छिट्टै एडब्लुजीले प्रस्ताव गर्ने र क्वार्टेरनरी स्ट्राटिग्राफीसँग आबद्ध वैज्ञानिक समुदायले निर्णय लिने बताइएको छ।
क्वार्टेरनरी स्ट्राटिग्राफीका वैज्ञानिकले बहुमतले एडब्लुजीको प्रस्ताव स्विकारेमा यसलाई इन्टरनेसनल कमिसन अन स्ट्राटिग्राफीमा पठाइनेछ। क्वार्टेरनरी स्ट्राटिग्राफी र इन्टरनेसनल कमिसन अन स्ट्राटिग्राफी दुवै निकाय विश्वका १० लाख भूगर्भविद् सदस्य रहेको इन्टरनेसनल युनियन अफ जिओलोजिक साइन्ससँग आबद्ध संस्था हुन्। यो विषयमा अन्तिम निर्णय दक्षिण कोरियोको वुसानमा अगस्तमा हुन लागेको इन्टरनेसनल जिओलोजिकल कंग्रेसले लिने बताइएको छ।
-एजेन्सी