कूटनीतिक मर्यादा विपरीत गरिएको मोदीको भ्रमणबारे सरकार किन नबोलेको: क्रान्तिकारी माओवादी

केही दिन अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय संचार माध्यममा प्रकाशित भएका छन् । तिर्थाटनको बहाना बनाई एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भूभागमा बिना जानकारी, बिना अनुमति भ्रमण गर्नु कूटनीतिक मान्यताको उल्लंघन मात्र होइन, यो हैकमवादी प्रवृत्तिको अभिव्यक्ति पनि हो । हाम्रो पार्टी भारतीय शासक वर्गको यस प्रकारको हैकमवादी नीतिको तीव्र विरोध गर्दछ । साथै, भारत सरकारले वर्षौंदेखि सैन्य अखडा बनाइराखेको नेपालको भूभाग कालापानी क्षेत्रबाट तुरुन्तै आफ्ना सेना फिर्ता गरोस् भन्ने जोडदार माग गर्दछ ।

साथै, कूटनीतिक मर्यादा विपरीत गरिएको मोदीको भ्रमणबारे एक शब्द नबोल्नु, अतिक्रमित आफ्नो भूभाग फिर्ता लिन पहल नगर्नु, नक्सांकन गरिएका क्षेत्रहरुमा जनगणना नगर्नु र संसदबाट एकमतले अनुमोदित नक्साकित क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पत्राचार समेत नगर्नु भारतीय शासक वर्गप्रति नेपाल सरकारको लाचारीपन तथा भारत भक्तिको अभिव्यक्ति हो । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ । साथै, कालापानी क्षेत्रबाट भारतीय सैन्य अखडा हटाउन र भारतद्वारा अतिक्रमित भूमि फिर्ता गराउनका लागि नेपाल सरकारले अविलम्ब पहल गरोस् भन्ने माग गर्दछ ।

२७ असोज २०५०

कञ्चन

प्रवक्ता

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल