राष्ट्रियसभाको बैठकमा सांसदहरुको माग,भ्रष्टाचार अन्त्य गरौं?

राष्ट्रियसभाको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्यको माग गरेका छन्।आज बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचार दिन प्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिन् ।

राजनीतिक रुपमा गरिएका नीतिगत र कानूनी भ्रष्टाचार छायाँमै परेको अवस्थामा उनले वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई समेत बहसमा ल्याएकोप्रति प्रशंसा गरिन्। उनले भनिन्, “भ्रष्टाचार कहाँदेखि सुरु भयो ? र कसरी मौलाउँदै गइरहेको छ ? जहाँ व्यक्तिको स्वार्थ र सम्पत्तिले प्राथमिकता पाउने व्यवस्था हुन्छ, त्यहाँ कुनै न कुनै ढङ्गले भ्रष्टाचार भइरहन्छ र भ्रष्टाचारको अन्त्य गर्न सकिँदैन ।”

भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेकामा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद दिइन्। उनले सबै किसिमका भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न वर्तमान सरकारलाई सुझाव पनि दिइन्। भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुन नहुनेमा उनको जोड छ ।

“वर्तमान सरकारले चलाएको आर्थिक तथा नीतिगत भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारका दुवै पक्षलाई बहसमा ल्याएको छ, सरकारले अगाडि बढाएको यो भ्रष्टाचार अभियानको समर्थन गर्दछु”, उनले भनिन् ।

सांसद कुमार दसौदीले दसैँ नजिकिँदै गर्दा कालोबजारी र महँगी मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरे। उनले भने, “दसैँ कसरी मान्ने ? जनतासँग एक पैसा छैन, महँगी बढेको छ, जनता महँगीको मारमा छन्, त्यतातिर सरकारको ध्यान गएको छैन ।”

वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ। सरकारले पटक-पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकामा उनले विरोध गरे। उनले भने, “महँगी बढेको अवस्थामा सरकारले जनताका पक्षमा काम गर्नुपर्छ।” दसैँमा सहज यातायातको व्यवस्था गर्नुपर्ने र भूकम्पमा परी मृत्यु भएका र घाइते परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।यो समाचार राससले प्रकाशित गरेको छ ।