सरकार र आन्दोलित स्वास्थ्यकर्मीबीचको सहमति भएकै भोलिपल्ट डाक्टर कुटियो,२ पक्राउ

काठमाडौँ । डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरलाई कुटेको भन्दै
आइतबार रुपक गौतम र सरोज गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो ।
मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए । बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै आफूमाथि कुटपिट भएको खड्काले बताए।

डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेका थिए । शनिबारमात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको थियो । सहमति लगत्तै चिकित्सकहरूको आन्दोलन फिर्ता भएको थियो ।