एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका १० का वडाध्यक्ष पक्राउ परेका छन् । ती युवतीले छविरमण धमलाले आफूलाई जबर्जस्ती करणी गरेको बताएकी छिन् ।तिनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट धमला पक्राउ परेका छन् । धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मङ्गलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन थिए । प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको भन्दै प्रहरी र अदालतमा हाजिर भएर कानूनी लडाइँ लड्ने प्रतिक्रिया दिएका छन् ।
पक्राउ परेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।
धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो । अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई बलात्कार मुद्दा लागेको थियो । उनी अहिले जेलमै छन् ।जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले बतायो ।