सुर्खेत । निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ दैलेखका सलाम पुलामी हुन् । उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
उषा बालवाटिका स्कुल कक्षा २ मा अध्ययनरत सो बालकको शव अहिलेसम्म उठाइएको छैन । घटना शंकास्पद भएको भन्दै आफन्तहरू विद्यालय प्राङ्गणमा आन्दालन गरिरहेका छन् ।
आफन्तले होस्टेल बाहिर तोडफोड गरेपछि उषा विद्यालयको परिसर तनावग्रस्त बनेसँगै अहिले विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
आफन्तहरु घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ । आफन्तहरुले विद्यालयका भौतिक सामग्री भाँच्ने र जलाउने गरेका थिए ।
प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिए ।उनले भने मुचुल्का तयार पार्ने र लास उठाउने प्रकिया अघि बढाउने प्रयास पनि भइरहेको छ ।