काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भएको छ । शनिबार कुपन्डोलमा भएको एकता भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६५ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । एकताबाट संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’राख्ने निर्णय पारित गरेको छ ।नवनिर्वाचित कमिटिको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने नवनिर्वाचित संगठनका संयोजक कमल बुढाले जानकारी दिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु क्रमश: दिनेश शर्मा सागर, गम्भिर, प्रवेश र क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत लगायत उपस्थित थिए।भेलामा अतिथिहरुले छोटो छोटो वैचारिक तथा राजनीतिक प्रशिक्षण सहितका मन्तव्य राखेका थिए ।
कमल बुढाको अध्यक्षता र नारायण पंगेनीले सञ्चालन गरेको सो भेलामा क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष दामोदर खनालले स्वागत मन्तव्य राखेका थिए ।
भेलामा कमल बुढाले प्रतिवेदन र रवि पाण्डेले विधान प्रस्तुत गरे । केही परिमार्जनसहित थप समृद्ध पार्ने गरी विधान र प्रतिवेदन हलबाट पारित गरिएको थियो । विधान पारित भएपछि पार्टीको प्रचार प्रसार विभागका सचिव हुकुमबहादुर सिंहले सम्मेलन आयोजक समितिको प्यानल प्रस्तुत गरेका थिए ।हलले ताली बजाएर प्रस्ताव पारित पनि गरे ।
नवनिर्वाचित कमिटिलाई भेलाका अतिथिहरु तत्कालीन क्रान्तिकारी पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा नवगठित क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार इन्द्र राउत र क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार अशोक सुवेदीले बधाई तथा शुभकामना मन्तव्य दिए ।
नवनिर्वाचित कमिटिको तर्फबाट संयोजक कमल बुढाले प्रतिबद्धता मन्तव्य राखेपछि जलपान सहित भेलाको समापन गरिएको थियो ।