काठमाडौँ महानगरपालिकाले अनधिकृत रुपमा प्रचार सामग्री टाँस्ने तीन जनालाई जरिवाना तिराएको छ । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने कार्यमा संलग्न तीन जनालाई आज कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको हो ।
विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो ।
नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।
गणेश आचार्य एस.वी. जब. सर्भिस लिङ्कसँग आवद्ध छन्
। यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ ।
तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ । अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो ? कम्पनी कस्तो हो ? त्यसको विवरण खुलाइएको छैन ।
गएको बुधबार उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदैछन् भन्ने गुनासो टिपाइएको थियो । सचिवालय प्रमुख सौरभ गौतमले भने, ‘काम पाइन्छ भनेर कम्पनीमा जानेहरुसँग तलब स्केल देखाएर त्यसवापत शुल्क उठाउने गरेको गुनासो आएको थियो । त्यसपछि रोजगारमुलक सामग्रीमाथि महानगर प्रहरी बलले नजर राख्न थालेको हो ।’