बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया — बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट ती महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघको आक्रमणमा परेकी थिइन्।

बाघको आक्रमणसँगै महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लैजाँदै गरिएको डीएसपी बोहोराले बताए । महिलाको शव पौने ५ बजेतिर भेटिएपछि पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनमा करीब ४ वर्षयता बाघको आक्रमणबाट १३ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्न जाने महिलाहरू नै रहेका छन् । वन कार्यालय, राष्ट्रिय निकुन्ज र प्रहरीले जंगलमा घाँस काट्न जाँदा एक्लै नजान आग्रह गर्दै आए पनि स्थानीयहरू बाध्यतावश एक्लै पनि जाने गर्छन् ।

उक्त घटनास्थल सदरमुकाम गुलरीयाबाट २५ किलोमिटर पश्चिमतर्फ पर्छ । जहाँ प्राय: दिउँसो पनि बाघहरू ओहोरदोहोर गर्ने गर्छन् ।यो समाचार ई कान्तिपुरमा प्रकाशित छ।