सानोठिमीस्थित बाल सुधार गृहबाट २२१ कैदीबन्दीहरु भागेपछि सुधार गृह बाहिर उनीहरुका आफन्तको भीड लागेको छ ।
आइतबारदेखि भएको झडप र सोमबार पनि जारी तनावबीच कैदीबन्दी भागेको समाचार सुनेपछि आफन्तहरु सुधार गृह बाहिर जम्मा भएका हुन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीका अनुसार, सानोठिमीस्थित सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा आइसकेका छन् । थप २७ जनाको खोजी भइरहेको केसीले बताए ।
‘उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरी परिचालित छन्’, उनले भने ।
सोमबार दिउँसो सुधार गृहको पछाडिपट्टिको ढोका फोडेर कैदीबन्दी फरार भएका थिए । उनका अनुसार, त्यसक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । भित्रका केही कैदीबन्दी पनि घाइते रहेको केसी बताउँछन् ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि आइतबार नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदीबन्दी फरार भएका थिए ।यो समाचार अनलाइन खबरमा विकास श्रेष्ठले लेखेका छन् ।