प्याब्सनले गर्यो २८ गते विद्यालय बन्द गर्ने तयारी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सहितका संस्थाले संघीय शिक्षा ऐनमा संशोधन नगरेमा देशभरका शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका छन् । संघीय शिक्षा ऐन प्रारम्भ भएको पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्नुपर्नेलगायतका प्रावधान खारेज नगरे अर्को हप्ता शिक्षण संस्था बन्द गर्ने घोषणा गरेका हुन् । ती संस्थाका प्रतिनिधिहरूले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर सडक आन्दोलनसहित शिक्षण संस्था बन्द गर्ने सिग्नल दिएका हुन् ।

मन्त्री राई र सचिव सुरेश अधिकारीले संघीय शिक्षा ऐन मस्यौदा यो साता प्रतिनिधिसभामा दर्ता हुने बताएपछि आक्रोशित निजी शैक्षिक संस्थाका प्रतिनिधिले विद्यालय बन्द गरेर आन्दोलनमा जाँदा के असर पर्ला त भनेका छन् । । मन्त्रीसँग भेट गर्न दिउँसो मन्त्रालय पुगेका निजी शिक्षण संस्थाका प्रतिनिधिले तत्काल मुआब्जा दिएर विद्यालय बन्द वा राष्ट्रियकरण गर्न चेतावनी दिएका थिए ।

यता प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले नेपाल मन्त्री र सचिव निजी शिक्षण संस्था जोगाउन गम्भीर नदेखिएपछि प्याब्सनले बन्द गर्ने चेतावनी दिएको बताए । मन्त्री र सचिवले ऐनको मस्यौदा दुईतीन दिनभित्र टेबल हुने बताएपछि आक्रोशित भएका संस्थाका प्रतिनिधिले आन्दोलनमा जाने चेतवनी दिएका थिए । यसअघि नै प्याब्सन, हिसान, एन प्याब्सन, अभिभावक महासंघ, ईस्टूलगायतका संस्थाले छलफल नै नगरी ल्याएको मस्यौदाको विरोधमा कडा आन्दोलन गर्ने बताइसकेका छन् ।

प्याब्सन कार्यालयमा हिजो आइतबार बसेको सरोकारवालाको बैठकले मस्यौदामा उल्लेख गरेका विषय तत्काल नहटाए देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको थियो । बैठकमा प्याब्सन, एन प्याब्सन, हिसान, अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन(ईस्टू)का अध्यक्षको उपस्थिति थियो ।

निजी शिक्षण संस्थाका प्रतिनिधिले बुधबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत सबै दलका अध्यक्षसँग भेटेर ज्ञापनपत्र दिने जनाएको छ ।

प्याब्सनको शनिबार सम्पन्न पदाधिकारी र केन्द्रीय समितिको बैठकले सबै सरोकारवालासँग छलफल गरी आन्दोलनको कार्यक्रम तय गरेको जानकारी दिँदै प्याब्सन अध्यक्ष डीके ढुंगानाले भने– ‘तीन दिनसम्म सबैसँग भेटघाट गर्नेछांै, त्यति समयसम्म पनि मस्यौदा परिमार्जन नगरे विद्यालय बन्दसहितको कडा आन्दोलनका कार्यक्रम अघि सार्नेछौं ।’ उनले निजी शिक्षण संस्थामाथि सरकारले गरेको व्यवहारप्रति सबै सरोकारवालाले समर्थन गरेको बताए।

निजी शिक्षण संस्थाले आन्दोलन गर्न प्याब्सन अध्यक्ष डीके ढुंगानाको संयोजकत्वमा समिति बनाएको छ । समितिमा सबै निजी शिक्षण संस्थाका प्रतिनिधि छन् । अनुगमन र सुपरीवेक्षण गर्न प्याब्सन निवर्तमान अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा छुट्टै समिति बनाइएको छ । मस्यौदा परिमार्जन नगरे देशैभरका विद्यालय बन्द गर्ने चेतावनी दिँदै पूर्व अध्यक्ष पुरीले भने– ‘केही दिन कुर्छौँ, समस्या समाधान नभए कडा आन्दोलन गर्नेछौं ।’

प्याब्सनले मस्यौदामा निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्तिमा गरेको भेदभावपूर्ण व्यवहार हटाएर ४५ प्रतिशतको छात्रवृत्ति व्यवस्था गर्नुपर्नेलगायतका संशोधन प्रस्ताव बुझाउने भएको छ ।