काेरियाले पानी जहाज कम्पनीका लागि नेपालबाट २५ सय कामदार लैजाने

कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन भाषा परीक्षाको आवेदन खुलेको हो ।

इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्ने छन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ ।

एक दिनमा चार सिफ्ट गरी परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने छ । आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने छ ।

भाषा परीक्षा, सीप परीक्षण तथा अर्न्तवार्तामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरूमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोश्रो चरणमा गरी अनुमानित उत्तीर्ण सङ्ख्या २ हजार ५ सयको अन्तिम नतिजा प्रकाशन गरिने बताइएको छ ।

कोरियामा कामदारको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने पनि सूचनामा उल्लेख छ । आवेदकको उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ । काेरिया नेपाली युवाहरूका लागि राेजगारीकाे आकर्षक गन्तव्य देश हाे ।