निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारी तलब र सुविधा दिन निर्देशन

फिदिम नगरपालिकाले निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन निर्देशन दिएको छ ।

संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्यून तलब र सुविधामा काम गरिरहेको गुनासो प्राप्त भएको भन्दै नगरपालिकाले निजी विद्यालयहरुलाई सामुदायिक स्कुल सरह तलब स्केल दिन निर्देशन दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रविणहाङ योङहाङले हस्ताक्षर गरेको पत्रमा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई सामुदायिक स्कुल सरह तलब स्केल,दशै खर्च,बिदाहरु, तालिम, , ज्येष्ठता भत्ता उपलब्ध गराउन, सञ्चय कोषको व्यवस्था गर्न, बिरामी तथा अध्ययन बिदाको सुविधा कार्यान्वयन गर्न र उनीहरूको तलब बैङ्क मार्फत भुक्तानी गर्न भनिएको छ ।

नगरपालिकाको शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम १३ को उपनियम २ मा सबै संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीलाई सरकारी मापदण्डमा पारिश्रमिक, दसैँ खर्च, लिलामको अवसर, ज्येष्ठता भत्ता उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यस्तै सोही नियमावलीको ३ मा शिक्षक कर्मचारीको लागी नियमित तलबबाट निश्चित प्रतिशत रकम कटाएर सोही बराबरको रकम थप गरी सञ्चयकोषको प्रबन्ध गर्नुपर्ने पत्रमा उल्लेख छ ।