पार्टी एकीकरण पछि नयाँ चरणमा छौँ-प्रधानमन्त्री

माघ पन्ध्रवटा सुरु भएको पार्टीको बैठकमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको दुई अंशः
प्रस्तुत उनको मुखारवृदबाट सम्बोधनको पूर्णपाठ –

आज हामी लामो समयको अन्तरालपछि केन्द्रीय कमिटीको दोस्रो बैठकमा उपस्थित भएका छौं । हामी सबैले महशुस गरेको कुरा हो, यो दोस्रो बैठक अस्वभाविक ढंगले बिलम्व हुन गयो । यो यति ढिलो हुन हुने थिएन । पार्टी एकता र एकीकरणको प्रक्रियामा विभिन्न खास कारणहरू भए, जसले केन्द्रीय कमिटीको बैठकसमक्ष राख्नुपर्ने विषयहरूलाई हामीले आवश्यक गति दिन नसक्दा नै बैठक बिलम्व भयो ।

पार्टी एकीकरणपछि नयाँ चरणमा छौं

एउटा कुराको भ्रमचाहिँ रहनु हुँदैन कि सरकारको कारणले वा प्रधानमन्त्रीको कारणले, प्रधानमन्त्रीले समय दिन नसकेर जस्ता कुराहरूले यो बिलम्व या ढिला भयो ? यो होइन, विविध कारणले बिलम्व भयो । यसमा हाम्रो गंभीरताका साथ ध्यान गएको छ । यस्तो हुन हुने थिएन भन्ने महशुस पनि गरिएको छ । भविष्यमा यस्तो बिलम्व नहुने कुरा स्पष्ट पनि छ । म यो कुरा शुरुमै स्पष्ट पार्न चाहन्छु ।

यतिबेला यो दोस्रो बैठक आयोजना भएपनि बैठकका रुपमा पहिलो बैठक हामीले एकीकरणका प्रक्रियाको निम्ति एउटा बेग्लै उल्लासका साथ सम्पन्न गरेका थियौं । अत्यन्त संक्षिप्त, छोटो तयारी, तर दूरगामी महत्वका ठूला ऐतिहासिक निर्णयका साथ पहिलो बैठक सम्पन्न गरेका थियौं, जसले गर्दा हासिल भएका परिणामहरू यहाँहरूलाई अवगत नै छन् । यसपटक हामी विधिवत् दोस्रो बैठक संचालन गर्न जुटेका छौं । यो बैठक संचालन गर्ने क्रममा हामीले पहिलो बैठकले जुन नयाँपन र उर्जा दिएको थियो, त्यसलाई सुदृढ गर्ने, त्यसलाई सरल बनाउने, कार्यान्वयन गर्ने र अगाडि बढ्ने हो । यो अभिभाराका साथ यहाँसम्म आइपुग्दा पार्टीले एउटा चरण पार गरेको छ । अब हामी अर्को चरणमा प्रवेश गरेका छौं । केन्द्रीय कमिटीको यस बैठकमा म सम्पूर्ण कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । सबै कमरेडहरूलाई धेरै धेरै स्वागत गर्दछु ।

यतिबेला हामीले आन्दोलनलाई यस महान् सफलतासम्म ल्याई पुर्‍याउन योगदान गर्ने हाम्रा आदरणीय सहिदहरू र अग्रजहरूलाई स्मरण गर्न र श्रद्धासुमन अपर्ण गर्नु आवश्यक छ । यस आन्दोलनमा अत्यन्तै धेरै ठूलो संख्यामा बलिदान पनि भएको छ । आफ्नो जीवन नै आहूति दिने, अंगभंग हुने, घाइते हुने, पारिवारिक अवस्था छिन्नभिन्न हुनेदेखि लिएर अनेक प्रकारका पीडा, कठिनाइका साथ विभिन्न समयमा विभिन्न नेताहरूले वैचारिक र सांगठनिक हिसाबले असाधारण र महत्वपूर्ण योगदान गर्नुभएको छ । संस्थापक कमरेड पुष्पलाल, जननेता मदन भण्डारी, आदरणीय मनमोहन अधिकारीलगायत थुप्रै नेताहरूलाई हामी यहाँ स्मरण गर्न सक्दछौं । यतिबेला म सबै सहिदहरूप्रति श्रद्धासुमन अपर्ण गर्दै अग्रजहरूप्रति सम्मान अर्पण गर्न चाहन्छु ।

सात दशक लामो निष्ठाको आन्दोलन

हामीसँग ७१ वर्षका संगठित अनुभवहरू छन् । संगठितढंगले हामीले सात दशकदेखि वैचारिक, राजनीतिक, सांगठनिक र व्यवहारिक आन्दोलनका क्षेत्रहरूलाई अनेक उतारचढावहरूका साथ झेलेका छौं । हामीसँग प्रतिबन्धित अवस्थाका अनुभवहरू छन् । दमनका अनुभवहरू छन् । जेलनेलका अनुभवहरू छन् । निर्वासनका अनुभवहरू छन् । लडाईंका अनुभवहरू छन् । हामीसँग अनेक प्रकारका पीडाका अनुभवहरू छन् । हामीले गुमाएका अनुभव पनि छन् र सफलता हासिल गरेका अनुभूति पनि छन् । हामीले प्रतिबन्धित अवस्थामा, प्रतिपक्षमा बसेर पनि अनुभव हासिल गरेका छौं । हामीले सरकारमा पुगेर, सरकारमा सहभागी भएर सहभागीका हैसियतले पनि अनुभव हासिल गरेका छौं । र, हामीले सरकार संचालन गरेर, सरकारको नेतृत्व गरेको अनुभव पनि हासिल गरेका छौं । अल्पमतका सरकार, अरुसँग मिलिजुली बनाएका सरकार अथवा अहिले बहुमतको सरकारको पनि अनुभव गरिरहेका छौं । हामीले विगतका वर्षहरूमा विभाजनका पीडा भोगेका छौं । एकता र सफलताका सुखानुभूति र उपलब्धि पनि हासिल गरेका छौं । तसर्थः हाम्रो आन्दोलन समृद्ध र निष्ठाको आन्दोलन हो । हाम्रो आन्दोलनले देशभित्रका सफलता वा असफलता मात्रै होइन, अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलन अथवा समाजवादी आन्दोलनका विभिन्न उतारचढावहरू तथा सफलता वा असफलताहरू पनि देखेको छ, त्यसको अनुभव पनि गरेको छ । हाम्रो आन्दोलनले कम्युनिष्ट आन्दोलनको मात्रै होइन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनका सफलता वा असफलता सँगसँगै तीब्र गतिमा अगाडि बढिरहेको, तीब्र गतिमा परिवर्तन भइरहेको २० औं शताब्दी र २१औं शताब्दीका अनुभवहरू हासिल गरेको छ, विज्ञान प्रविधि, संचार र यातायातको अत्यन्त तीब्र विकासले समाजमा प्रभाव पारेको छ । त्यसले ल्याएको परिवर्तन तथा खोज अध्ययन र अनुसन्धानको सन्र्दभमा विज्ञानको क्षेत्रमा उठेका, उठाइएका कुराहरू र मानवजातीले प्राप्त गरेका उपलब्धिहरू एवं त्यसले समाजमा पारेको असरहरूलाई अनुभव पनि गरेको छ । कला, संस्कृति, साहित्य लगायतका तमाम कुराहरूमा आएको परिवर्तन– यी सारा कुराहरू पनि हामीले अनुभव गरेका छौं।

newskiran.com

newskiran.com

You May Also Like