१ जेठ,२०८० काठमाडौं । मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
यो प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने भएकाले अवैध तरिकाले भित्राइएका मोबाइल अब नचल्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् ।
करिब ४० प्रतिशत मोबाइल गैरकानुनी रूपबाट भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकार, व्यवसायी र उपभोक्ता सैबलाई हानि भइरहेको तर्कसहित एमडीएमएस लागू गरिएको हो । यो प्रणालीमा दर्ता नभई भन्सार छलेर ल्याइएका मोबाइलहरु नचल्ने भएकाले नेपालको मोबाइल बजार पूर्णवैधानिक हुने प्राधिकरणको विश्वास छ ।