प्रेटोलियम पदार्थ बोक्ने ट्यांकरको ठक्करबाट २ को मृत्यु

साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना मरेका छन् । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट उनीहरू आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिएका छन् ।
ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएका छन् ।