भ्रष्टाचारीलाई कारबाही र नागरिकता विधेयक खारेजीको माग गर्दै देशैभर मोहन वैद्य र मसालको आमसभा

२८ बैशाख २०८० काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)ले भ्रष्टाचारी, मानव तस्करहरुलाई कारबाही गर्न र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै काठमाडौं उपत्यकासहित देशका सातवटै प्रदेशमा विरोध प्रदर्शनसहित आमसभा गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरण र नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनसहित आमसभाका कार्यक्रम सार्वजनिक गरिएको छ ।

जारी प्रेस विज्ञप्ती अनुसार बैशाख ३० गते काठमाडौंको शान्तिबाटिकामा र जेठ १ गते पोखरा, जेठ २ गते बुटबल, जेठ ३ गते सुर्खेत र हटौडा। जेठ ४ गते धनगढी र विराटनगर र जेठ ५ गते जनकपुरमा प्रदर्शनसहित आमसभाको कार्यक्रम राखिएको छ ।

विज्ञप्तीमा सम्पूर्ण जिल्लाहरुमा समेत प्रदर्शन र आमसभा गर्ने जनाइएको छ ।

विज्ञप्तीमा पछिल्लो समयमा सरकारमा बसेका मन्त्री, सांसद, नोकरशाह र संसदवादी राजनीतिक पार्टीका नेताहरुसहितको संगठित गिरोहहरु मानव तस्करीमा सक्रिय सहभागि हुनुले अन्तर्राष्ट्रिय रुपले नेपालको बदनाम भएको उल्लेख गर्दै यसबाट सिंगो नेपाली नागरिकको प्रतिष्ठामा आँच आएको बताइएको छ र भनिएको छ, “यो देशका लागि अक्षम्य राष्ट्रघात र जनविरोधी हर्कत हो । भुटानी शरणार्थीहरुको कोटामा नक्कली भुटानी बनाई नेपालीहरुलाई अमेरिका छिराउनु राष्ट्रिय स्वाभिमान गुमाउनु मात्र भएको छैन, इतिहासको सबैभन्दा लज्जास्पद विषय भएको छ ।”

विज्ञप्तीमा अगाडि भनिएको छ, “यस्तै प्रकारको राष्ट्रघातमा नागरिकता विधेयक पनि आएको छ । विगतका राष्ट्रपतिले अस्वीकार गरेको विधेयकलाई पुनः पारित गरी अंगीकृत नागरिकलाई बंशजको नाताले हुने नागरिक बनाउन खोजिएको छ । यसले देशको सार्वभौमिकतामाथि दखल पु¥याएको छ ।”

विज्ञप्तीमा यतिखेर नेपालको दलाल नोकरशाही पुुँजीवादी सत्ता इतिहासमै सबैभन्दा बदनाम भएको उल्लेख गर्दै देशका सबै क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छन्, संसदीय व्यवस्थाको स्थापनादेखि नै संस्थागत भ्रष्टाचारका जराहरु गाडिएर हुन् भनिएको छ ।

विज्ञप्तीमा नोकरशाही दलाल संसदीय व्यवस्था स्थापना भएपछि यसको चरित्र अनुसार नै लाउडा काण्ड, सुनकाण्ड, मेलम्ची, ओम्नी, यती, ललिता निवास, वाईड बडी, सेक्युुरिटी प्रेस लगायतका सयौं भ्रष्टाचारका काण्डहरु घटेका उल्लेख गर्दै भ्रष्टाचारीहरुमाथि कार्यवाही गर्न सरकारलाई दवाव दिन र उक्त विधेयक खारेज गराउन सम्पूर्ण क्रान्तिकारी, जनवादी शक्तिहरुमा हार्दिक अपिल गरिएको छ ।