कथित विज्ञका रुपमा दिइने नियुक्ति अाफ्ना भक्तजनहरुलाई क्षणिक जागिर खुवाउने


हिरामणि दुःखी
२ जेठ २०८० काठमाडौं । १- नेपालमा संसद र सरकारमा रहने नेताहरुले सरकारी काेषबाट एकजना सहयोगी (झाेला बाेकेर पछिपछि कुद्ने, फाेन उठाउने अादि काम गर्ने पिए) राख्ने बाहेक सञ्चार विज्ञ, जनसम्पर्क विज्ञ, राजनीतिक विज्ञ, अादि इत्यादि विज्ञ भनेर तत्सम्बन्धी सामान्य ज्ञान पनि नभएका र भए पनि अत्यन्तै न्यून भएका अाफ्ना वरिपरिका भक्तजनलाई नियुक्त गर्नुले पनि नेताहरु अाफ्नाे जिम्मेवारीमा सफल हुन नसक्नुकाे एउटा कारण हाे । यसरी कथित विज्ञका रुपमा दिइने नियुक्ति अाफ्ना भक्तजनहरुलाई क्षणिक जागिर खुवाउने बाहेक अरु केही हुँदैन ।
२- दाेस्राे कुरा नेपालका संसदवादी सबै दलका नेता सांसदहरुमा कम्तिमा अाफुले सामान्य जानकारी राख्ने विषयकाे जिम्मेवारी लिने भन्दा पनि पाएजति सबै क्षेत्रकाे उच्च जिम्मेवारी लिन, मन्त्री हुन अघि सर्ने प्रवृत्ति छ, जस्काे परिणाम अाफ्नाे क्षेत्रमा असफल हुने गरेका छन् । राजनीतिमा कहिलेकाहीँ ठुला ठुला जिम्मेवारी लिनुपर्ने परिस्थिति पनि हुन्छ, त्यस्ताे बेला सम्बन्धित विषयका विज्ञहरुकाे सल्लाह लिने, अाफुले त्यस विषयमा अध्ययन गर्ने, बुझेर मात्रै बाेल्ने बानी भैदिए पनि असफल हुनु पर्ने थिएन, त्याे गर्ने चलन छैन । पद पाएपछि त्यो विषयकाे विज्ञ अाफु बाहेक दुनियाँमा अरु काेही छैन भन्ने प्रवृत्ति छ । याे पनि समस्याको जड हाे ।
३- पार्टीमा पनि सकेसम्म माथिल्लो पदमा पुग्न दलाली, चाकडी, गुटकाे फेराे समाउने, धम्क्याउने, थर्काउने, घुर्क्याउने प्रवृत्ति छ र यसरी माथि पुगेपछि अाफुलाई सर्वज्ञाता ठान्ने र अरुलाई तुच्छ ठान्ने, अाफु मालिक बनेर तल्लो कमिटीका सहयाेद्धाहरुलाई नाेकरकाे रुपमा ठान्ने र व्यवहार गर्ने, माथि पुगेपछि तल झर्नै नहुने, कथम् झर्नु परे पार्टी नै छाेड्ने प्रवृत्ति छ । याे त संसदवादी पार्टीकाे मात्रै राेग हाेइन । सबैभन्दा बढी याे प्रवृत्ति कम्युनिस्ट नाम गरेका पार्टीहरुमा रहेको छ ।
४- पार्टीहरु अाफ्नाे लक्ष्य र उद्देश्यमा पुग्न नसक्नु, पुगे पनि सफल हुन नसक्नुकाे अर्को कारण हरेक पार्टीमा विभिन्न विषयगत विभागहरुलाई सञ्चालन नगर्नु, बनाएका विभागहरुलाई पनि नेतालाई थान्काे लाउने साधनमा मात्रै प्रयोग गर्नु ठुलाे राेगका रुपमा रहेको छ ।