नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमले खासै गति लिएन

२४ बैशाख २०८० रामेछाप । चालु आर्थिक वर्ष २०७९÷०८० को १० महिना बित्नै लागिसकेको छ । तर रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमले खासै गति लिन सकेको छैन ।

नगरपालिकालाई प्राप्त बजेटलाई हेर्दा नगरका सबै वडाका गरी ७४ जना सूचीकृत बेरोजगार व्यक्तिले एक सय दिनको न्यूनतम रोजगारी पाउने अनुमान लगाउन सकिन्छ । तर यो वर्ष कति जना सूचिकृत भएका बेरोजगार व्यक्तिलाई एक सय दिनको रोजगारी दिन सकिन्छ भन्ने अनुमानित तथ्याङ्क समेत नगरपालिकासँग छैन

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा अहिलेसम्म वडा नं ८ चिसापानीमा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालन हुने योजना सम्पन्न भएको छ । यो कार्यक्रम मार्फत चिसापानीका ८ जना बेरोजगार सूचिमा सूचिकृत भएकाले यो वर्ष एक सय दिनको रोजगारी पाएका छन् । मन्थली नगरपालिकाको सबै वडामाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालन हुने योजनाहरू आगामी जेठ १५ गते सम्म सक्ने गरी काम भइरहेको मन्थली नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक रक्षित रेग्मीले दाबी गर्नुभयो । अहिलेसम्म मन्थली नगरपालिकाको वडा नं ८ चिसापानीमा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालन हुने योजना सम्पन्न भई भुक्तानी समेत भइसकेको र वडा नं ४ सालु र वडा नं १४ फुलासीमा काम सकिएको भन्ने जानकारी आएको उहाँले बताउनुभयो ।

यो वर्ष मन्थली नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचीकृत बेरोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न सडक र पर्यटन पूर्वाधार विकास लगायतका सार्वजनिक निर्माण कार्यमा परिचालन गरिएको रोजगार संयोजक रेग्मीले बताउनुभयो । मन्थली नगरपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४२ लाख ९७ हजार रुपैयाँ सशर्त अनुदान प्राप्त भएको छ । यो वर्ष नगरपालिकाको सबै वडामा गरी ४७६ जना बेरोजगार व्यक्तिमा सूचीकृत भएका छन् । नगरपालिकालाई प्राप्त बजेटलाई हेर्दा नगरका सबै वडाका गरी ७४ जना सूचीकृत बेरोजगार व्यक्तिले एक सय दिनको न्यूनतम रोजगारी पाउने अनुमान लगाउन सकिन्छ । तर यो वर्ष कति जना सूचिकृत भएका बेरोजगार व्यक्तिलाई एक सय दिनको रोजगारी दिन सकिन्छ भन्ने अनुमानित तथ्याङ्क समेत नगरपालिकासँग छैन ।नगरपालिकाको वडा तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तीन लाख रुपैयाँ मुनीका योजनाहरु रहेका छन् । २०७५ फागुन १ गतेबाट देश भरका ७ सय ५३ ओटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको छ । १८ वर्ष देखी ५९ वर्ष उमेर समूहका नागरिकहरू प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन सक्छन् । बेरोजगार सूचिकृत भएका व्यक्तिले दिनको ८ घण्टा काम गरे बापत ५७७ रुपयौँका दरले एक सय दिनको रोजगारी पाउने छन्।