१३ बैशाख २०८० काठमाडौं । अब कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थीलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी)को अध्ययन अनिवार्य भएको छ । यसअन्तर्गत हरेक कक्षाको विज्ञान तथा प्रविधि विषयभित्र सूचना तथा सञ्चार प्रविधि एकाई समावेश हुनेछ ।
आधारभूत तह (४-८) को विज्ञान तथा प्रविधि विषयको पाठ दुईभित्र उक्त एकाई राखिएको छ । त्यस्तै कक्षा ९ र १० मा एकाई १३ मा उक्त विषय राखिएको छ ।
यसअगाडि कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षाको अध्यापन गरिन्थ्यो । तर राष्ट्रिय शिक्षा प्रारुप २०७६ लागू भएसँगै उक्त विषय हटाइएको थियो । यद्यपि विद्यालय तह (६-८) मा कम्प्युटर शिक्षा हटाएकोभन्दा पनि विज्ञान तथा प्रविधिभित्र पढाउन थालिएको पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारीले बताए ।
“हामीले प्रारुपअनुसार विज्ञान तथा प्रविधि विषयभित्र रहेको सूचना तथा सञ्चार प्रविधिबाट कम्प्युटर अध्यापन गराउने नयाँ पाठ्यक्रम विकास गरेका छौं,” उनले भने, “पहिले कक्षा ६ बाट कम्प्युटरको पढाइ हुन्थ्यो भने अहिले कक्षा ४ बाट हुन्छ ।”
उनका अनुसार पहिले (६-८) भएको कम्प्युटर शिक्षाको पाठ्यघण्टा प्रतिहप्ता पाँच थियो । अर्थात् प्रत्येक कक्षामा वार्षिक १७५ पिरियड अध्यापन गराउनुपर्थ्यो । तर अहिले ८ देखि १२ वर्षका विद्यार्थीले हरेक कक्षा (४-८)मा ३० घण्टा सूचना तथा सञ्चार प्रविधि पढ्नुपर्छ ।
त्यस्तै कक्षा ९ र १० मा भएको उक्त एकाईको कार्यघण्टा १४ रहेको छ । यद्यपि कक्षा ९ देखि वैकल्पिक विषयका रूपमा विद्यार्थीले कम्प्युटर शिक्षा अध्ययन गर्नसक्ने उनले बताए ।
यसैबीच राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार विद्यालय तह (१-१२) का सबै विषयको पाठ्यक्रम २०८० सम्म परिवर्तन गरिसक्ने उद्देश्य अनुरूप यस शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएकाे उनले जानकारी दिए ।
नेपालमा वि.सं. २०७६ मा राष्ट्रिय पाठ्यक्रम प्रारुप लागू भएको थियो । त्यससँगै शैक्षिक वर्ष २०७७ मा कक्षा १ र ११, २०७८ मा कक्षा २, ३, ६ र १२ नयाँ पाठ्यक्रम लागू गरिएको थियो । त्यस्तै २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू गरिएको थियो ।
विद्यालय तहको आईसीटीमा निम्म विषय समावेश गरिएका छन्:
कक्षा ४
-सञ्चारका साधनहरू
-कम्प्युटरको सामान्य परिचय
-कम्प्युटरका भागहरू
-कम्प्युटरको सुरक्षा र सरसफाइ
-पेन्ट सफ्टवेर र टाइपिङ सफ्टवेयर
-इन्टरनेट
कक्षा ५
-सूचनाका स्रोतहरू
-सञ्चार तथा यसका प्रकारहरू
-टाइपिङ सफ्टवेयर
-वर्ड प्रोसेसर
-पेन्ट सफ्टवेयर
कक्षा ६
-स्थानीय प्रविधि
-आधुनिक प्रविधि
-दैनिक जीवनमा स्मार्टफोनको प्रयोग
-दैनिक जीवनमा कम्प्युटरको प्रयोग
-कम्प्युटर
-मल्टिमिडियाको प्रयोग
कक्षा ७
-सूचना तथा सञ्चार प्रविधिका साधनहरू
-इन्टरनेट, इमेल र ब्राउजर
-स्प्रेडसिट
-फोटो इडिटिङ
-पावर प्वाइन्ट प्रिजेन्टेसन
-कम्प्युटर भाइरस
-सफ्टवेयर
कक्षा ८
-सूचना तथा सञ्चार प्रविधिका साधन
-सर्च इन्जिन, वेबसाइट, आईएसपीको परिचय
-सोसल नेटवर्किङ साइट
-साइबर अपराध, कम्प्युटर आचारसंहिता, साइबर कानुन र इन्टरनेट सुरक्षाको सामान्य परिचय
-रोबोटिक्स र भर्चुअल वास्तविकताको परिचय
-आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड कम्प्युटिङको परिचय र प्रयोग
कक्षा ९
-कृत्रिम भूउपग्रह र यसको प्रयोग
-सूचना तथा सञ्चार प्रविधिको प्रयोग
-दूरसञ्चार
-मोड्युलेसन र डिमोड्युलेसन
-आधुनिक सञ्चार प्रविधिका रूपमा इन्टरनेट
-अनलाइन सुरक्षा उपाय
-अनलाइन गोपनीयता जाँच
-साइबर बुलिङ सचेतना
-डिजिटल फुटफ्रिन्ट सचेतना
-फायरवाल र एन्टिभाइरस सुरक्षा
कक्षा १०
-डिजिटल सङ्केत
-सिग्नल प्रसारण
-डिजिटल सञ्चार प्रणालीका अवयव
-बेसब्यान्ड प्रसारण र ब्रोडब्यान्ड प्रसारण
-सूचना तथा सञ्चार प्रविधिको विकासमा डिजिटल प्रविधिको प्रभाव
-दैनिक जीवनमा प्रयोग गरिने डिजिटल प्रविधि
-डिजटल सिटिनसिप
-डिजिटल आरोग्यता
-श्रव्य तथा श्रव्यदृश्य सामग्री निर्माण ।
यो समाचार टेक पाउनाले बैशाख ११ मा प्रकाशित गरेको छ ।