मेयर बालेन शाहले गरे राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना

काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्र लिङदेनको पार्टीलाई पठाएको हो ।

पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. समेत उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ ।

पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।सो दिन थापाथली, माइतीघर लगायत ठाउँमा उच्च सवारी चाप पनि बढेको थियो ।