आज चैते दशैं,शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी मनाईंदै

हिन्दू धर्मावलम्बीहरूले आज आफ्नो घर तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन्।

प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई हिन्दुहरूले चैते दसैँका रुपमा मनाउने गर्छन्। चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ।
देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। आजको दिन दसैँघर तथा कोतहरूमा महाकालीको पूजा गर्ने गरिन्छ।
चैते दसैँको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी, बागलुङको कालिका मन्दिर, जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन्। असोजमा मनाइने दसैँलाई ‘बडादशैं’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैँलाई ‘चैते दसैँ’ भनिन्छ।
पहिले बडा महाराजको हुकुमबाट असोजमा दशैं सारिएपछि बडादशै असोज र विगतमा मानिँदै आएको दशैलाई चैते दशैंको रुपमा हाल मनाइदै आएको हो ।