३ लाख ३० हजार तिरेर राँगो मार हान्ने एकेन्द्र भण्डारीलाई पूजा समिति र स्थानीयवासीले गरे अभिनन्दन

सरकारी राँगो मार हानेका भण्डारीलाई पूजा समिति र स्थानीयवासीले अभिनन्दन पनि गरेका छन् ।सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गरेका हुन् ।

उनी हुन;रघुगंगा– २ सिजलगाउँका एकेन्द्र भण्डारी ।उनले तीन लाख ३० हजार रुपैयाँ तिरेर विजयादशमीको नवमीका दिन राँगो मार हानेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा रहेको भगवती कोत मन्दिरमा प्रत्येक वर्ष नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न बोलकबोल हुने गरिएको छ ।आइतबार राति भएको खुला बढीबढाउमा भण्डारीले सबैभन्दा बढी बोलकबोल गरेका थिए । उनले कोत मन्दिरमा विधिपूर्वक पूजाआजा गरेपछि यस वर्षको राँगो मार हाने।
कबोल रकम भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिलाई उनले आइतबार बुझाएका थिए ।

यसअघि ०७९ को नवमीमा तीन लाख १५ हजार, ०७८ को नवमीमा तीन लाख, ०७६ मा दुई लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । पूजा समितिले सरकारी राँगाको बढीबढाउ सुरुवाती मूल्य ६७ हजार रुपैयाँ राखेको थियो । नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका रहेकाले पूजा व्यवस्थापन समितिले बोलकबोलबाट मार हान्ने व्यक्तिको छनोट गर्ने गरेको समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए ।हरेक वर्ष सरकारी मार हान्न आकांक्षा राख्नेहरूको संख्या र बोलकबोल रकम बढ्दै गएको पूजा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष थानबहादुर भण्डारीले बताए ।

तत्कालीन बाइसे–चौबिसे राज्यकालदेखि नै यहाँको कोत मन्दिरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन रहेको छ । यो खबर नागरिक न्युजमा प्रकाशित छ ।