सुनको सिक्रीको सट्टा दिइएको हनुमानको माला दाइजो नलिएपछि दुलहा पक्राउ

विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो । दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक–एक थान सुनको अ‍ौ‌ठी र हनुमानको माला पाएका थिए ।तर, सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर साहले दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह नै रद्द गरेको जनाइएको छ ।
विवाह रद्द भएपछि बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरिएको थियो । लगभग ५० हजारको सिक्री नपाउँदा बेहुला मन्डपबाट बाहिरिएपछि विवाद सुरु भएको थियो ।

दुलाहा सहित पक्राउ परेकाहरुलाई श्रीपुर वडा कार्यालयमा राखिएको छ। मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी छ। दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो।