बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, उपत्यकामा बढ्यो ह्वात्तै जाडो

आज बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ । त्यसैले उपत्यकामा चिसो बढेको महसुस गरिएको हो ।दोलखाको जिरीको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री पुग्दा मिनिमम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।जोमसोमको न्यूनतम तापक्रम पनि माइनस ५ दशमलव ५ डिग्री रहेको छ । डडेलधुराको तापक्रम पनि २ दशमलव १ डिग्रीमा झरेको छ । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झरेकाे थियाे । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने र बाँकि भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ ।जाडोको औषधि आगो भनेर कतिपयले दाउरा किनेरै आगो ताप्न थालेका छन् भने कसैले घरको हिटरको भरपुर प्रयोग गरिरहेको बुझिएको छ ।