रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक पक्षलाई समावेश गरेर तयार पारिएको लोकदोहोरी गीत घुमौ रामेछाप हालै बजारमा आएको छ । रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा रहेका ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक पक्षलाई समावेश गरेर तयार पारिएको श्रोता, दर्शकको कर्णप्रिय गीत बजारमा आएको हो । जिल्लाकोभित्र रहेको पर्यटकीय क्षेत्रको थप प्रचार प्रसार गरी आन्तरिक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले सो गीत बजारमा ल्याइएको स्वयम् गायक बताउँछन् । सुनापति गाउँपालिका–१ गुन्सी निवासी नकुल गौतमले घुमौ रामेछाप बोलको गीत तयार गरेका हुन् । यस गीतमा गायक नकुल गौतम रहेका छन् र पार्वती कार्कीको स्वर रहेको छ भने नकुल गौतमकै लय र गायक कुमार कार्कीको शब्दमा रहेको छ । गीतको भिडियोमा आयुष्मा कार्की, नबिन गौतम, कुमार कार्की र नकुल गौतमको अभिनय देख्न सकिन्छ ।
काँठे भिडियो निर्देशक मिलन श्रेष्ठले निर्देशन गरेको यस गीतको कोरियोग्राफी राजाराम सिम्खडा, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भ्युज थेरै रहेजस्तो देखिए पनि टिकटकमा भने गीत भाइरल बनेको छ ।