विदेश पठाइदिन्छु भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गर्ने ललितपुरका लामा पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अभियोग छ । ललितपुर कोन्जोसोम गाउँपालिका वडा नं. १ बस्ने उनी रकम ठगी गरी फरार रहेका थिए ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. ३१ शंखमूलबाट पक्राउ गरेको थियो।

लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको बताइएको छ ।यो समाचार दैनिकी न्युजमा प्रकाशित छ ।