शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कानुनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डारीले आज दायर गरेको रिटमा गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै रिट दायर भएको हो । निवेदनमाथि शुक्रबार सुनुवाइ हुने सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

सरकारले केन्द्रीय बैंकका पूर्वगभर्नर अधिकारीलाई २०७६ साल २४ चैतमा गभर्नरमा नियुक्त गरेको थियो। नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा भएको गभर्नरको योग्यतासम्बन्धी व्यवस्थामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर गरेको हुनुपर्ने प्रावधान छ ।अझ त्यही क्षेत्रमा अनुभव हासिल गरेको समेत हुनुपर्ने उल्लेख छ।

गभर्नर अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षता मात्र लिएको जिकिर गरिएको छ । ऐनमा स्नातकोत्तर तह उत्तीर्ण भएकै हुनुपर्ने सर्त तोकिएकाले समकक्षताको भरमा योग्यता नपुग्ने रिटमा उल्लेख गरिएको जनाइएको छ ।