जुनार बाजेले थाले सुकाजोर खोलामा मेवाखेती, आम्दानी मनग्य

‘अनार बाजे’को नामले चिनिएका रामेछापका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्न थालेका छन् । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत वर्षदेखि नै मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाएर मनग्य आम्दानी गर्न थालेका हुन् । सबै खर्च कटाएर उनले वार्षिक रू १८ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

मेवाखेतीभित्र उनले कागतीसँगै केरा पनि लगाएका छन्। कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन थालिसकेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट करीब दुई वर्षअघिदेखि सुरु गरिएको मेवाखेतीबाट लाखौँ आम्दानी उनले गरिरहेका छन्।

उनी भन्छन् “पाँच किलोसम्मको वजन भएको फल फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म उत्पादन क्षमता रहने गर्छ । होलसेल मूल्यमा रू एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ।” एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुन्छ।

बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो। उनले भने, “अरु रोजगारीका लागि विदेश जान्छन्। म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषि कर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।”

आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिए। नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उनले बताएको खबर राससमा प्रकाशित छ ।