नागढुङ्गा–मुग्लिन सडक सूचना जारी गर्दै १२ देखि ४ सम्म बन्द

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन गरेको छ ।तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरेको हो ।
दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गर्ने,भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिएका छन्। उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिने भएको छ । ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ। काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने छ । पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोक्ने जनाइएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ। गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनःएकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो ।

काठमाडौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोे प्रयोग गर्न अनुरोध गरेको हो ।यो समाचार राससमा प्रकाशित छ ।