नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास

धनकुटा। धनकुटाको लेगुवास्थित रामबजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ। नेकपा एमालेले पुष १४ देखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा भोजपुरबाट धनकुटा जाँदै गर्दा ओलीमाथि आक्रमण प्रयास भएको हो । आक्रमण गर्ने प्रयासमा दाहिने हात उज्याएर अघि बढेका स्थानीय महेश राई भनिने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको धनकुटाका प्रहरी नायव उपरिक्षक राजबाबु महर्जनले बताएका छन् ।

अध्यक्ष ओली सहितको संकल्प यात्राको टोली बिहीबार करीब १२ बजे भोजपुरबाट धनकुटा पुगेको थियो। लेगुवास्थित रामबजारमा अध्यक्ष ओलीलाई स्वागत गर्ने लाइनमा बसेका राईले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई झापड हान्न हात उज्याउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ ।

अध्यक्ष ओली सहितको संकल्प यात्राको टोली भने लेगुवाबाट पाख्रीबास, हिले, जोरपाटी र सिधुवामा आयोजित कार्यक्रममा सहभागि हुँदै तेह्रथुमको वशन्तपुरमा आयोजित जनसभामा सहभागी भएको थियो। तेह्रथुमको विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागि हुँदै टोली मंसिर ३० गते पाँचथर प्रवेश गर्ने बुझिएको छ।

एमालेको संकल्प यात्रालाई पहिचानवादीहरुले बिथोल्न सक्ने भन्दै बिहीबार स्थानीय प्रशासनले धनकुटाको सुरक्षा व्यवस्था कडा पारेको थियो।कडा सुरक्षाका साथ ओलीले कार्यक्रम स्टेज चडेसँगै वस्त्र पहिरिएर स्वागत गरिएको थियो । त्यसपछि ओलीले कोट मिलाएर मुस्कुराउँदै आसनमा बसेका थिए ।उनलाई माला लगाइएको थियो ।