प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त सदस्य सचिव पदका लागि अन्तर्वार्ता मंसिर ८ गते हुने भएको छ । यसअघि कार्तिक १७ र १८ गतेका लागि अन्तरवार्ताको समय तोकिएको भए पनि जाजरकोटलाई केन्द्र बनाएर भूकम्प जादाँ जनधनको क्षति हुनेपुगेपछि अन्तर्वार्ता स्थगित भएको थियो ।
सदस्य सचिव नियुक्तिका लागि समितिले आवेदकमध्येबाट कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आठ जनाको नाम छोटो सूचीमा छनौट गरेको छ ।
जसमा हाल निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेका महेश भट्टराईसहित अरविन्दकुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य रहेका छन् ।
नियमावली अनुसार राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव सरह पाँच वर्ष परिषद्मा सेवा गरेको कर्मचारीले सदस्य सचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ ।
प्रतिस्पर्धामा रहेका आठ जनामध्ये सिफारिस समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छनौट गरेर उत्कृष्ट तीन जनाको नाम पठाउने र तिनै जनाको नाम मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ ।
मन्त्रिपरिषद् बैठकले उपयुक्त र योग्य एक जना कर्मचारीलाई सदस्य-सचिव नियुक्त गर्नेछ । सीटीईभीटीको सदस्य सचिव शिक्षाको प्राविधिकतर्फको कर्मचारी नियुक्त गर्ने गरिएको छ । सीटीईभीटी प्राज्ञिक थलो भएकाले विज्ञताको आधारमा प्राज्ञिकलाई ध्यान दिएर नियुक्त गर्नेपर्ने पक्षमा परिषद्का कर्मचारी रहेका छन् ।
-नेपाल प्रेसबाट