भूकम्पमा परी रुकुम पश्चिममा अहिलेसम्म ३८ जनाको मृत्यु,८५ घाइते

भूकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते छन् ।

गएराति गएको भूकम्पका कारण आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो र ८५ जना घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिए। जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्केका छन् चालिस जनाको जिल्लामै र अन्य घाइते १५ जनालाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ । बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको सङ्ख्या बढ्न सक्ने उनले बताए ।

जाजरकोटको रामीडाँडामा शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पका कारण रुकुमपश्चिममा पनि ठूलै मानवीय क्षति भएको तथा भौतिक संरचनाहरुमा क्षति पुगेको बताइएको छ ।