कलाकारहरुलाई दशैंको टिका लगाएर ३५ रुपैयाँ दक्षिणा कलाकारले दिए उल्टै थपेर फिर्ता

राजधानीमा कलाकारहरुलाई दशैंको टिका लगाएर ३५ रुपैयाँ दिइएको छ । तर अधिकाँश कलाकारले थपेर फिर्ता गरेका छन् ।
कलाकारहरुले थोरै दक्षिण दिएको भनेर फिर्ता गरेका भने होइनन् । कलाकारहरुको हितका लागि कल्याणकोष निर्माणका लागि थप गरेर पैसा दिएका हुन् । कलाकार संघकी सदस्य सरिता राजोपाध्यायले संकलित रकम ३५ हजार पुगेको ललितखबरलाई बताएकी छिन् ।
कलाकारहरुबीच भातृत्व र सदभावका लागि शुभकामना तथा दशैंको टिका ग्रहण कार्यक्रम राखिएको सदस्य राजोपाध्यायले बताइन् ।
पर्वहरुको अवसरमा चलचित्र कलाकार संघले शुभकामना आदान प्रदान एवं टिका ग्रहण कार्यक्रम आयोजना गरेको थियो । संघ गठन भएको ३५ बर्ष पुगेको सन्दर्भमा ३५ रुपैया दक्षिण दिइएको हो ।
कार्यक्रममा सहभागी कलाकारहरुलाई लेखक तथा चलचित्र निर्देशक यादव खरेलले टिका लगाइदिएका थिए ।
कार्यक्रमको संयोजन निवर्तमान अध्यक्ष रविन्द्र खड्काले गरेका थिए भने कलाकार लय संग्रौलाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, महासचिव सविन श्रेष्ठ,रामेश्वर बुर्लाकोटी,कोषध्यक्ष सुनिल कट्वाल,सदस्यहरु नम्रता खरेल,सरिता राजोपाध्याय,रोसन श्रेष्ठ,राजकुमार शाह,जयन्ता रेग्मी र पवन केसीलगायतको सहभागिता थियो ।