बुधबारदेखि फेर्यो पठाओले लोगो, आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा : बस्न्यात

राइड सेयरिङ/हेलिङ प्लेटफर्म पठाओले लोगो परिवर्तन गरेको छ । कम्पनीले आफ्नो पुरानो लोगो परिवर्तन गरी बुधबार नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगोमा नगवेली बाटो/सडक ‘थिम’मा पठाओको पहिलो अङ्ग्रेजी अक्षर ‘पि’ लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरूलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातको बुझाई रहेको छ ।

झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तनको नयाँ लोगो प्रयोगमा आएको छ ।

नेपालमा ५ वर्षमा ६ ओटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरू प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यातले बताए ।

केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको ‘पठाओ पार्सल’लाई देशव्यापी बनाउने र डिजिटल वालेट ‘पठाओ पे’ समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यातको भनाई छ ।

पठाओको नयाँ लोगो विश्वव्यापी रूपमा अक्टोबर २५ बुधवारदेखि लागू भैसकेको कम्पनीले जनाएको छ ।तर, कम्पनी को लोगो परिवर्तन गर्दा प्यान वा भ्याटमा दर्ता गराएको वा नगराइएको भने खुलाइएको छैन् ।पठाओ कम्पनीले केही वर्षमै प्रशस्त पैसा कमाएर नयाँ बानेश्वरमा आफ्नै निजी भवन किनेको र एकाधिकार कम्पनी बनेर फाइदा लुटिरहँदा सरकारी निकायबाट नियमन नभएको जनगुनासो बढ्न थालेको छ ।