सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक सवारी चालक महिलाको मृत्यु

काठमाडौं। भद्रकाली नजिकै नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार राति साढे ७ बजे काठमाडौं‌ महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक सवारी चालक महिलाको मृत्यु भएको हो।

सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको प्र.-३-०१‍-००१ग ३७०५ नं.को ७.५ टन ट्रकले बा.प्र -०२ -०१८ प ९२७७ नं.को स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको हो। ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।

त्यहाँ उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।