काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ ।उडान नं. ६८४ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो ।धावनमार्ग नदेखेपछि आज कतार एयरको जहाजले पनि आकासमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको थियो । ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गर्यो।
रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका थिए ।
ओभरसुट भएका जहाजहरु सामान्यतया आकासमा एक फन्को लगाएर केही समयमै अवतरण हुने गरेका छन् ।
त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरु सिमरामाथिको आकाशबाटै एप्रोच लिने गर्दछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि पनि जहाजहरु ओभरसुट भएका विवरणहरु छन् । २०७९ भदौमा सिंगापुर एयरलाइन्सको जहाज र गत बैशाखमा एयर इण्डियाको जहाज ओभरसुट भएका थिए ।
आज काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । पानी परेको बेला रनवेमा पाङ्ग्रा चिप्लिने जोखिम हुने प्राविधिकहरु बताउँछन् ।
जहाजहरु ओभरसुट हुनुलाई अधिकारीहरु सामान्य रुपमा लिन्छन् । कहिलेकाहिँ एप्रोच नमिल्दा, भिजिबिलिटी कम हुँदा, अत्यधिक पानी पर्दा र कहिलेकाहिँ जहाज हाई अल्टिच्युड भएर आउँदा पनि ओभर सुट हुने गरेका छन् ।