रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा बास बसेकै घरबाट सुन चोरी गरेर फरार भएको आरोपमा दार्चुला जिल्ला मारमा गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । मोटरसाइकलमा साबुन स्याम्पु लगायतका सामान बिक्री गर्दै हिँडेका मारमा गाउँपालिकाका १९ बर्षिय लोकेन्द्र महराले बास बसेको स्थानीय श्याम सुन्दर श्रेष्ठको घरबाट सुनको तिलहरी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।
पीडित श्रेष्ठले आफुनो घरमा बास दिएका महराले नै तिलहरी चोरी गरेर फरार रहेको उजुरी प्रहरी कार्यालयमा दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले खोजी गर्ने क्रममा मन्थली नगरपालिकाका–१ धोवी होटलमा लुकीछिपी बसेको अवस्थामा भदौ ८ गते पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले पक्राउ परेका महराको साथबाट सुनजस्तै देखिने पहिलो धातु टुक्राटुक्रा पारेर कागजमा बेरेको अवस्थामा फेला परेको बताए । भेटिएको उक्त वस्तुको परीक्षण भइरहेको र चोरीमा संलग्न महरालाई रामेछाप जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको पराजुलीले जानकारी दिए । यो समाचार रामेछाप न्युजमा प्रकाशित छ ।