नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि विद्यालयलाई अनुकूल समय मिलाएर सट्टा पठनपाठन गराउन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा पठनपाठन गर्न सामुदायिक विद्यालयका शिक्षकशिक्षिकालाई आग्रह गरेको हो ।
नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक केही घर फर्किसकेका र बाँकि पनि फर्किने क्रम जारी छ ।
विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासङ्घले यही असोज ३ गते संविधान दिवसकै दिनबाट पारेर ३,४ र ५ गते काठमाडौँमा विशाल सडक आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेपनि विद्यालयमा ४ र ५ गते दुई दिनको पढाइ भने अवरुद्ध बनेको थियो ।