शिक्षक कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भए कारवाही हुने

स्याङ्जाको वालिङ नगरपालिकाले कार्यालय समय(९-५) भित्र शिक्षक कर्मचारीहरु राजनीतिक गतिविधिमा संलग्न भए कारवाही गर्ने भएको छ । नगरकार्यपालिकाको भदौं २६ गतेको कार्यपालिकाको निर्णयानुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु तथा निजामती कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनीतिक कार्यक्रमहरुमा संलग्न नहुने निर्णय गरेसँगै कारवाही गर्ने भएको हो । त्यहाँ कार्यरत शिक्षक करमचारीले भने यो सूचना असोज ३ गतेबाट हुने शिक्षक महासंघको आन्दोलनप्रति लक्षित रहेको भनेका छन् ।

नगर कार्यपालिका निर्णयमा कार्यालय समयमा शिक्षक कर्मचारीहरु एवं निजामती कर्मचारीहरु राजनीतिक गतिविधिमा सामेल नहुन आग्रह गरिएको छ । सो विपरित कार्य गरेको पाइए नियमानुसार कारबाही हुने भनिएको छ ।

शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा (ङ) को ५ (छ) तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ (संशोधन सहित) को दफा १८ को उपदफा १ (च) मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी तथा निजामति सेवा ऐनको दफा ४४ मा निजामती कर्मचारीले कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था रहेको छ ।

यससँगै काठमाडौं महानगरपालिकाले पनि शिक्षक शिक्षिकाहरुको सेवासुविधा सरकारी बराबर बनाउन प्रयत्नरत रहने तर राजनीतिक पार्टीहरुमा शिक्षक शिक्षिकाहरु, कर्मचारीहरु संलग्न हुन नपाउने भन्ने धारणा सार्वजनिक हुदै आएको छ । उपत्यकामा भने बढीजसो सरकारी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु राजनीतिक पार्टीका सक्रिय सदस्य रहेकाले खासै चासो दिइएको छैन् ।