नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौ अख्तियार अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । नुवाकोट जिल्ला विदुर नगरपालिका–१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयका शिक्षक मञ्जु कुमारी थापा (ओझा) विरुद्ध मुद्दा दायर गरेको हो ।

थापा (ओझा)ले भारतबाट एस.एल.सी. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पढाई रहेको र छानबिन गर्दा नक्कली भएकोले कारबाहीका लागि मुद्दा दयार गरीएको जनाएको छ ।

उजुरीका आधारमा अनुसन्धान हुँदा निज मञ्जु कुमारी थापा (ओझा)ले २०५५ मंसिर ११ मा साविक श्री कन्या देवी निम्न माध्यमिक विद्यालय, नुवाकोटमा प्रा.वि. तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्ति हुन र २०७५ चैत २९ मा श्री कन्या देवी आधारभूत विद्यालय, नुवाकोटमा स्थायी नियुक्ति हुनका लागि विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उतिर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको आयेगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

निजले शिक्षकको हैसियतमा लाभ लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
यो समाचार एजुकेशन खबरमा प्रकाशित छ।