आठ वर्षेखि बन्द रहेको तातोपानी नाका पुन सञ्चालनमा आएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमतिपत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेसँगै नाका सञ्चालनमा आएको हो । नाका सञ्चालनमा आएपछि सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरूले भव्य स्वागत गरेका थिए ।
नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगे। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेर नाका पूर्ण सञ्चालनमा आएको जानकारी दिए ।
विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्ण रूपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सिर्जित कठिनाइ पन्छाएर सीमित रूपमा मात्रै सञ्चालन भएको नाका २०७६ साल फागुनमा विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।
चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा सापकोटाले आवाज पनि उठाएका थिए । साथै, कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षणसमेत गराएका थिए ।
केही समयअघि चिनियाँ अधिकारीले शुक्रबार देखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।यो समाचार राससले प्रकाशित गरेको छ।