‘साकार सपना’ ऐतिहासिक विषयवस्तुमा आधारित कथा

गणेश प्रसाद भट्टराईद्वारा रचित ‘साकार सपना’ ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो । यस कथामा कथाकारले नेपाल एकीकरणको एउटा ऐतिहासिक सन्दर्भमार्फत राष्ट्रिय चेतना जागृत गर्ने उद्देश्य राखेका छन् । यसका साथै गोरखाली फौजको वीरताको खुलेर प्रशंसासमेत गरेका छन् । पृथ्वीनारायण शाहले सपना देखेको र उक्त सपनालाई गोरखाली फौजले साकार पारेको सन्दर्भ कथामा मुख्य रूपमा अभिव्यक्त भएको छ ।

मल्ल राजा र अङ्ग्रेजका बिचमा भएका सबै गतिविधि जासुसीमार्फत पृथ्वीनारायण शाहले बुझिरहेका थिए । मल्ल राजाको सहयोगका लागि अङ्ग्रेज फौज आएमा कहाँ र कसरी आक्रमण गर्ने भन्नेबारेमा पनि उनले योजना बनाएर कार्य गरेका थिए । एक दिन आफूले राम्रो सपना देखेको बारेमा उनी कुरा गरिरहेका हुन्छन् र आफ्नो सपना पूरा हुने बारेमा आफ्ना विश्वासपात्रसँग बताइरहेका थिए । द्वारेले अङ्ग्रेजले पठाएको धम्कीपूर्ण पत्र दिएर गएपछि पृथ्वीनारायण शाहले खोलेर पढे अनि च्यातेर अँगेनामा हालिदिए । उता सिन्धुली गढीको बाटो हुँदै अङ्ग्रेज फौज नेपाल आउँछ। कुहिरो लागेकाले बाटो हिँड्न उनीहरूलाई सहज हुँदैन । त्यसैबिचमा गोरखाली सेनाले आक्रमण गरी अर्ना, अरिङ्गाल, बच्छिउँ बिच्काएर अङ्ग्रेज फौजलाई भागाभाग बनाउँछन् । रातभरि अङ्ग्रेजलाई लखेटिरहन्छन् । गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुग्छन् । आफ्ना सपना पूरा गरेकोमा पृथ्वीनारायण शाहले गोरखाली फौजको प्रशंसा गर्छन् ।

यसप्रकार पृथ्वीनारायण शाहले देखेको सपना उनका विश्वासपात्रहरू वंशु गुरुङ, वंशराज पाण्डे, वीरभद्रको सहायतामा पृथ्वीनारायण शाहले पूरा गरे । उनले आफ्नो सपना पूरा गर्न सहयोग गर्ने वंशु गुरुङलगायतका गोरखाली फौजको प्रशंसासमेत गरे ।