२०२३ अगस्त १५
माननीय मुख्य मन्त्री
सिक्किम,
पश्चिम बङ्गाल,
बिहार,
उत्तर प्रदेश,
उत्तराखण्ड,
हिमाचल प्रदेश
इन्डिया ।
मुख्य मन्त्री महोदय,
१. छिमेकी देश भएको नाताले इन्डियाको गणतन्त्र दिवसमा खुलेर बधाई दिन नसक्नुको कारण इन्डिया नै हो भन्नुपर्दा हामी नेपालीले त्यति सङ्कोच मान्नुपर्दैन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसै पृष्ठभूमिमा इन्डियाका उल्लिखित राज्यका माननीय मुख्य मन्त्रीहरूसमक्ष सन् १९४७ अगस्त १५ मा इन्डियाले स्वराज प्राप्त गर्दा १८१६ मार्च ४ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि स्वतः स्वतन्त्र भएकोमा इन्डियाले त्यो भूमिमा जबर्जस्ती औपनिवेशिक शासन लादेको तथ्य प्रस्तुत गर्दै इन्डियाको उक्त क्रियाकलापले स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको खिल्ली उडाएको दृश्य देखाउन चाहन्छ ।
२. नेपाल अधिराज्य स्वतन्त्र मुलुकका रूपमा विद्यमान छँदाछँदै हाल सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशभित्र अवस्थित नेपाली भूमि १९४७ अगस्त १५ मा इन्डियामा पार्नु ठूलो अन्याय हो र नेपालीहरू यो अन्यायको अन्त्यको प्रतीक्षामा छन् ।
३. आफ्नो भूमिमा स्वतन्त्रता दिवस मनाउनु रोमाञ्चक
कुरा हो तर उपनिवेशमा राखिएको भूमिमा स्वतन्त्रता दिवस मनाउनु स्वतन्त्रता शब्दकै अपमान हो । नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले उपनिवेशलाई निरन्तरता मात्र दिएको होइन , सबै खाले उपनिवेशको अन्त्य हुनुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको घोषणालाई पनि लत्याइरहेको छ । तपाईँहरू मुख्य मन्त्री रहेका ती-ती राज्यमा गाभिएको नेपाली भूमिमा इन्डियाको झन्डोत्तोलन गर्नु सरासर गलत र अवैध काम हो । इन्डियाको संविधानको धारा १.३(ग) अनुसार इन्डियामा नगाभिएको नेपालको टिस्टादेखि सतलजसम्म र दक्षिणतर्फ गङ्गाको उत्तरी मैदानसम्मको भूमिमा गणतन्त्र दिवस मनाएर तपाईँहरूले नेपाली जनमानसमा जुन आतङ्क फैलाउनुभएको छ , त्यो सर्वथा निन्दनीय छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँ माननीय मुख्य मन्त्रीहरूलाई स्मरण गराउन चाहन्छ, १९५० जुलाई ३१ मा भएको नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरी नेपालको वासतविक सिमाना टिस्टा-सतलज-गङ्गा कायम गरिसकेको छ र ती नेपाली भूभागमा तपाईँहरूको शासन-प्रशासन इन्डियाको संविधान अनुसार पनि पूर्णतः असंवैधानिक हो ।
बोधार्थ:
-प्रधानमन्त्री , नेपाल
-प्रधानमन्त्री, इन्डिया
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल