आगामी जुन महिनाबाट मन्थली–काठमाडौँ नियमित उडान हुने


४ जेठ २०८० रामेछाप । आगामी जुन महिनाबाट रामेछापको सदरमुकाम मन्थली–काठमाडौँ नियमित उडान हुने भएको छ । रामेछाप मन्थली विमान स्थलबाट काठमाडौँ नियमित उडान गर्ने बारेमा बिहीबार भएको सरोकारवालाको बैठकमा नागरिक उड्डयन प्राधिकरण मन्थलीका प्रमुख अशोक थापाले यसबारेमा जानकारी गराउनुभएको हो ।
रामेछाप विमानस्थलमा सेड्युल उडान गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा जेठ ३ गते बसेको प्राधिकरणका पदाधिकारी र वायुसेवा कम्पनीका पदाधिकारीहरू बिच भएको छलफल अनुसार मन्थली–काठमाडौँ नियमित उडान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
बैठकमा स्थानीय सरकार राजनीतिक दल तथा अन्य सरोकारवालाको मागलाई सम्बोधन गर्न हाल रामेछाप विमानस्थललाई अप्रेसन बेस गरी उडान सञ्चालन गरिरहेका तारा, समिट र सीता एयर प्रालि ले काठमाडौँ–रामेछाप–काठमाडौँ वृत्त खण्डमा प्रतिहप्ता कम्तीमा एक सेड्युल उडान गर्ने गरी प्राधिकरणमा संशोधित उडान तालिका पेस गर्ने सहमति भएको थियो । ‘मे महिनामा सेड्युल बनिसकेकाले अब सोही बैठकको सहमति अनुसार प्रति हप्ता कम्तीमा एक दिन शुक्रवार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्मको समयभित्र उडान गर्ने गरी तयारी भइरहेको छ’, उहाँले भन्नुभयो ।
तारा एयर प्रालि रामेछापका प्रमुख प्रवीण सुवेदीले स्थानीय सरकार, राजनीतिक दल स्थानीयको माग अनुसार अब जुन महिनाबाट प्रत्येक हप्ताको शुक्रवार तारा, समिट र सीता एयर प्रालि ले पालोमा मन्थली–काठमाडौँ नियमित गर्ने तयारी गरिरहेको बताउनुभयो । वाग्मती प्रदश सांसद तारानारायण श्रेष्ठले जेठ ३ गते भएको प्राधिकरणका पदाधिकारी र वायुसेवा कम्पनीका पदाधिकारीहरू बिच भएको सहमति अनुसार चाँडो भन्दा चाँडो रामेछापको मन्थली–काठमाडौँ नियमित उडान हुनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले वायुसेवा कम्पनीहरू नाफामुखी मात्रै बनेकाले सेवा मुखी पनि बनेर रामेछापका नागरिकको माग अनुसार छिटो भन्दा छिटो नियमित उडान गर्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले लुक्लाका लागि दैनिक ५० वटा उडान गर्ने विमान कम्पनीले मन्थली–काठमाडौँको एउटा पनि उडान नराख्दा बिरामी, अशक्त, गर्भवती, शल्यक्रिया गरेर घर फर्कनेहरूलाई समस्या भइरहेकाले छिटो मन्थली–काठमाडौँको उडानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । लुक्लाका लागि दैनिक ५० वटा उडान हुँदा काठमाडौँका लागि एउटा उडान पनि नराख्दा वायुसेवा कम्पनीसँग जिल्लावासी रुष्ट बनेका थिए ।
मन्थली विमानस्थलमा रात्रिकालीन विमान पार्किङ राखेर लुक्लाका लागि उडान गर्ने तारा, सीता र समिट एयरलाई स्थानीय सरकार, राजनीतिक दल र सांसदहरूले समेत पटक पटक सातामा कम्तीमा एउटा उडान काठमाडौँका लागि राख्न आग्रह गर्दै आएका थिए । तर मन्थली विमानस्थललाई कमाउने थलो बनाएका विमान कम्पनीहरूले रामेछाप–काठमाडौँ उडानका लागि चासो दिएका थिएनन् । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म रामेछापको मन्थली विमान स्थल मार्फत लुक्ला पर्यटक लैजाने व्यवस्था गरेको छ । यो सिजनमा मन्थली विमान स्थलबाट दैनिक झन्डै एक हजार ५०० सय पर्यटक ओहोरदोहोर गर्छन् । यो समाचार तामाकोशी अनलाइनमा प्रकाशित छ ।