आधा सिलिण्डर ग्यास वितरण हुँदै

नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए अनुसार उपभोक्ताले आवश्यकभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो।

पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ ।

निगमले इन्डियन आयल निगम (आईओसी)सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।तर,भारतबाट मागअनुसारको ग्यास आउन छाडेको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।

सरकारले यसअघि २०७२ को भूकम्पीय समस्या छिमेकी मुलुक भारतले लगाएको नाकाबन्दीताका पनि आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।