सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ ।यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ । विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिकसत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताउनुभयो ।
गत शैक्षिकसत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई गरी जम्मा १३ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । हाल यहाँ स्थायी दरबन्दीमा एक, करार दरबन्दीमा एक शिक्षक र एक कार्यालय सहयोगी छन् । बसाइँसराइ गरेर अन्यत्र गएपछि गाउँमा बसेर पढ्ने विद्यार्थी छैनन् । शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुन लाग्दा विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नभएको खबर सुनेलगत्तै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा अधिकृत विकल काफ्लेलगायतको टोलीले मङ्गलबार अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा नगरप्रमुख थापाले विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि तत्काल नजिकको पायक पर्ने विद्यालयमा समायोजन गरेर सञ्चालन गर्ने बताउनुभयो।