अंग्रेजीमा पढाइ हुने सरकारी विद्यालय रत्नराज्य, जहाँ भर्ना हुन हजारौंले प्रतिस्पर्धा गर्दा थोरैले मात्र पढ्न पाउँछन्
२०१४ साल अर्थात् देशले काँचुली फेरेको सात वर्षपछि काठमाडाैंको मध्यबानेश्वरमा एउटा विद्यालयको बीजारोपण भयो । न त पक्की भवन, न व्यवस्थित कक्षा कोठा । खुला चौर र सिक्ने चाहनाले भरिएका विद्यार्थीहरू सुकुल ओछ्याएर भुईंमा बस्थे । खुला आकाशमुनि उभिएर शिक्षकहरू पढाउँथे । यही साधारण परिवेशबाट सुरु भएको थियो रत्नराज्य माध्यमिक विद्यालयको शैक्षिक यात्रा ।
२०१६ सालतिर शिक्षाको अवसरलाई सीमित घेराभित्र नराख्ने प्रयासस्वरुप यस विद्यालयले रात्रिकालीन कक्षासमेत सञ्चालन गर्यो । २०१८ सालमा औपचारिक रूपमा स्थापना भई २०२१ सालदेखि नियमित अध्यापन सुरु भए पनि झण्डै तीन दशकसम्म विद्यालयको भौतिक संरचना अत्यन्त कमजोर थियो ।
काठका अस्थायी संरचना, झ्याल–ढोकाविहीन कक्षाकोठा र हावाहुरीको डरैडरमा विद्यार्थीहरूले पढ्नपर्थ्यो । सरकारी विद्यालय भएर पनि लामो समयसम्म विद्यालयको नाममा आफ्नो जग्गा नै थिएन । कहिले मन्दिरसँग त कहिले रत्न पुस्तकालयसँग जग्गा विवादको झमेला यो विद्यालयले झेलिरह्यो । अहिले पनि यस्ता समस्या भोगी नै रहेको छ । तर, यी सबै चुनौतीका बीचमा पनि रत्नराज्यले शिक्षाको ज्योति भने निभ्न दिएन ।
अभाव र संघर्षका बीचमै पनि २०४३ सालको एसएलसी परीक्षामा रत्नराज्य माध्यमिक विद्यालयले बोर्ड प्रथम भएर इतिहास रच्यो । सामुदायिक विद्यालय पनि उत्कृष्टताको शिखरमा पुग्न सक्छ भन्ने सशक्त उदाहरण यस विद्यालयले त्यो बेला नै प्रमाणित गरिदियो ।
आज, आफ्नो ६५ वर्षे यात्रामा आइपुग्दा रत्नराज्य स्कुलले रूपान्तरणको नयाँ अध्याय लेखिरहेको छ, जहाँ काठका कक्षाकोठा पक्की भवनमा परिणत भएका छन् । चक डस्टरको ठाउँ स्मार्ट बोर्डले लिएको छ । सिकाइ अब घोकाइमा सीमित छैन, बुझाइ, सीप र सिर्जनशीलतामा विस्तार भएको छ ।
अंग्रेजी माध्यमबाट पढाइ हुन्छ
सामुदायिक विद्यालय आज पनि अधिकांश अभिभावकको रोजाइमा पर्दैन । धेरैका लागि सरकारी विद्यालय कमजोर नतिजा, अव्यवस्थित व्यवस्थापन र सीमित अवसरको पर्यायजस्तै बनेको छ । तर, रत्नराज्य माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा, नवीन शिक्षण विधि र विद्यार्थीकेन्द्रित अभ्यासमार्फत समाजको यो सोचलाई चुनौती दिइरहेको छ ।
दशकौँको निरन्तर प्रयास, शैक्षिक प्रतिबद्धता र विद्यार्थीकेन्द्रित दृष्टिकोणलाई आत्मसात् गर्दै रत्नराज्य माध्यमिक विद्यालयले आज आफूलाई विद्यार्थी र अभिभावकको रोजाइको विद्यालय बनाएको छ, जहाँ बालबालिकाले पाठ्यपुस्तक मात्र होइन, आत्मविश्वास, संस्कार र जीवनोपयोगी सीप पनि सिक्ने अवसर पाउँछन् । समयको माग र अभिभावकको चाहनाअनुसार अहिले विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ ।
‘एउटा सेक्सन मात्र नेपालीमा छ, अरु सबै सेक्सनमा अंग्रेजीमै पढाउँछौँ,’ विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भट्ट भन्छन्, ‘अभिभावकको चाहना र अहिलेको आवश्यकता पनि भएकाले हाम्रो विद्यालय पनि त्यसअनुसार नै अघि बढिरहेको छ ।’
भर्ना पाउनै गाह्रो
रत्नराज्य माध्यमिक विद्यालयमा हाल २ हजार ५ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् । अहिले यहाँ भर्ना पाउँन हजाराै विद्यार्थीबीच प्रतिस्पर्धा हुने गर्छ । यस वर्ष त भर्नाका लागि आवेदन दिनेको संख्या झन् बढेको प्रधानाध्यापक भट्ट बताउँछन् ।
‘यो शैक्षिकसत्रका लागि १ हजारभन्दा बढी आवेदन परिसकेका छन्, हामीसँग सीमित स्रोत साधन छ, सबैलाई भर्ना लिन सकिँदैन,’ उनी भन्छन्, ‘इन्ट्रान्स लिन नपाइने भनिएको छ तर आवेदन दिनेमध्येबाट विद्यार्थी छनोट केही न केही आधारमा त गर्नैपर्यो, कसरी गर्ने भन्ने अलमल छ ।’
यो शैक्षिकसत्रमा मात्रै पनि रत्नराज्यमा भर्ना हुन खोज्नेहरू सयौँले भर्ना नपाउने अवस्था छ । विद्यार्थी भर्ना गरिदिन पर्यो भन्दै विभिन्नखाले दबाब समेत विद्यालयमा आउने गरेका छन् ।
‘कोही कसैले भनसुन गरेको भरमा र शक्तिको आडमा हामीले विद्यार्थी भर्ना गर्दैनौँ,’ प्रधानाध्यापक भट्ट भन्छन्, ‘भर्ना प्रक्रिया स्वच्छ र निष्पक्ष हुन्छ, यो विद्यालयले हरेकलाई समान अवसर प्रदान गर्दछ ।’
विद्यालयमा प्लेग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विद्यालयमा कक्षाकोठाको अभाव हुँदा धेरै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने अवस्था छ । तर, यसमा पनि बलियो पक्ष भनेको दक्ष शिक्षक छन् । प्राथमिक तहमा पढाउने शिक्षकहरूसमेत स्नातकोत्तर गरेका छन् । कोही विद्यार्थी कुनै विषयमा कमजोर भयो भने विषय शिक्षकसहित बसेर त्यसको कारण खोजिन्छ । योजना बनाएरै कक्षाकोठाको समस्या समाधान गरिन्छ ।
विद्यार्थीको खुसी पहिलो प्राथमिकता
कक्षा १ देखि ३ सम्म इन्टिग्रेटेड करिकुलम लागू गरिएको छ । थिममा आधारित भएर सिकाइन्छ । विद्यार्थीहरू खेल्दै पढ्छन् । सरसफाइ, अनुशासन, बानीव्यवहार, आत्मविश्वास, विद्यालयमा नियमिततालगायतका आधारमा विद्यार्थीलाई ग्रेडिङ गरिन्छ, तर परीक्षा लिइँदैन ।
४ कक्षामाथि पनि समूहगत कार्य दिएर पढाइन्छ । विद्यार्थीहरूलाई फिल्ड भिजिटलगायत माध्यममार्फत किताबी ज्ञानलाई वास्तविकतासँग जोडिन्छ । यसरी कक्षा ८ सम्मै पढाइ बोझिलो हुँदैन । विद्यार्थीले यति पढ्नैपर्छ, घोक्नैपर्छ, परीक्षामा पास हुनैपर्छ भनेर दबाब दिइँदैन । हरेक कुरा सिक्न र गर्न विद्यार्थीहरू स्वतन्त्र छन् । विद्यार्थीको रुचि र क्षमतालाई सम्मान गरिन्छ ।
प्रधानाध्यापक भट्ट भन्छन्, ‘यहाँ कुनै पनि विद्यार्थीलाई शारीरिक र मानसिक तनाव दिने, बुली गर्ने, कुट्ने, थर्काउनेजस्ता कार्य यहाँ निषेध गरिएको छ, विद्यार्थीहरूको खुसी हाम्रो पहिलो प्राथमिकता हो ।’
प्रत्येक विद्यार्थीको कुरा सुनिन्छ र उनीहरूको समस्या सम्बोधन पनि गरिन्छ । हरेक विद्यार्थीलाई तपाईं भनेर सम्बोधन गरिन्छ । शिक्षकहरूले विद्यार्थीलाई होच्याउने, गाली गर्ने गर्न पाउँदैनन् ।
हरेक दिन विद्यार्थीलाई नमस्कार गरेर स्वागत गरिन्छ । विद्यालयबाट घर फर्किने बेलामा पनि शिक्षकहरूले गेटमा बसेर हरेकलाई ‘सी यु टुमारो’ भन्दै बिदाई गर्छन् । त्यसैले पनि यहाँ हरेक विद्यार्थी मुस्कुराउँदै विद्यालय आउँछन् र मुस्कुराउँदै घर फर्किन्छन् । अनि भोलिपल्ट विद्यालय आउन आतुर हुन्छन् ।
को–करिकुलर एक्टिभिटिज र एक्स्ट्रा करिकुलर एक्टिभिजिटलाई पनि सँगसँगै अघि बढाइएको छ । हाउसअनुसार पनि विद्यार्थीहरू विभिन्न किसिमका गतिविधिमा सहभागी हुन्छन् । विद्यालयमा ‘मोरल क्लब’ पनि छ, जहाँ विद्यार्थीहरूले नै विद्यार्थीलाई सिकाउने र सिक्ने काम गर्छन् । कमजोर विद्यार्थीहरूलाई शिक्षकहरूले नै विशेष सहयोग गर्छन् ।
प्रधानाध्यापक भट्ट आफैँ पनि प्लेग्रुपदेखि कक्षा १० सम्म हरेक दिनजसो पुग्ने र विद्यार्थीहरूमाझ समय बिताउने, उनीहरूको कुरा सुन्ने गर्छन्, जसले विद्यार्थी र शिक्षकबीचको दूरी कम गर्ने कार्य गरिरहेको छ ।
‘ससाना भाइबहिनीहरू म चौरमा उभिएको देख्नासाथ घेर्न आइपुग्नुहुन्छ, आफ्ना समस्याहरू राख्नुहुन्छ, उनीहरूको कुरा सुनिदिँदा नजिक हुने रहेछन्,’ विद्यार्थीहरूसँगको सामीप्यता साट्दै प्रधानाध्यापक भट्ट मुस्कुराउँछन् ।
आजकाल विद्यालयले नम्बरलाई मात्रै सफलताको मानक मानेर घोकाउने गर्दैन । बरु विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने वातावरण दिइरहेको छ । प्रोजेक्ट बनाएर, खेलेर वा फिल्ड भिजिट गराएर भए पनि विद्यार्थीलाई पहिला बुझाउनुपर्छ भन्ने मान्यता प्रधानाध्यापक भट्ट राख्छन् ।
उनी भन्छन्, ‘विद्यालयले विद्यार्थीमा भएका सफ्ट स्किलहरूको पहिचान गर्न मद्दत गर्ने र त्यसलाई व्यक्त गर्ने वातावरण दियो भने भोलि केही न केही प्रगति गरिहाल्छन् नि, नम्बरलाई मात्रै सफलताको इन्डिकेटर मान्नु हुँदैन ।’
६ कक्षादेखि नै सिक्छन् विद्यार्थीले कोडिङ
रत्नराज्य माध्यमिक विद्यालयले अहिले डिजिटल शिक्षामा जोड दिइरहेको छ । स्मार्ट बोर्डबाट पढाइन्छ । प्रत्येक कक्षामा सीसी क्यामेरा छन् । अनुशासनको उल्लंघन भएमा तत्काल ट्र्याक गरिन्छ । प्रत्येक कक्षामा कक्षा संयोजक तोकिएको छ । १ देखि ५ मा २ जना संयोजक छन् । ५ देखि माथि प्रत्येक कक्षामा छुट्टाछुट्टै संयोजक तोकिएका छन् । उनीहरूले टिमवर्कमा कक्षाकोठालाई व्यवस्थित गर्ने र आवश्यक कामकारबाही गर्ने गर्छन् ।
घोकाएरभन्दा पनि विद्यार्थीलाई समूहगत कार्य, सामूहिक छलफल, फिल्ड भिजिट र प्रोजेक्टमा आधारित भएर पढाइन्छ । क्विज कम्पिटिसनदेखि वक्तृत्वकला, पब्लिक स्पिकिङका साथै इनडोर र आउटडोर गतिविधिहरू पनि प्रशस्तै गराइन्छ ।
विद्यालयमा कोडिङ समूह नै बनाइएको छ । कक्षा ६ देखि नै विद्यार्थीले कोडिङ सिक्न थाल्छन् । साहित्यिक क्लबले भित्ते पत्रिका निकाल्छन् । डान्समा रुचि हुनेहरू त्यता लाग्छन् । संगीतदेखि अन्य सीप र कला सिक्ने अवसर पनि विद्यार्थीले विद्यालयमै पाउँछन् ।
साथै, विद्यालयले अभिभावकहरूलाई समेत बेलाबेलामा प्यारेन्टिङसम्बन्धी अभिमुखीकरणका तालिमहरू सञ्चालन गर्ने गरेको छ । यसले विद्यालयप्रति अभिभावकको विश्वास झनै बढाउँदै लगेको प्रधानाध्यापक भट्ट बताउँछन् ।
तर, यतिलाई मात्रै पर्याप्त मान्दैनन् उनी । विद्यालयमा प्रधानाध्यापकको रूपमा उनले जिम्मेवारी पाएको धेरै समय भएको छैन । तर, आफ्नो कार्यकालमा रत्नराज्य माध्यमिक विद्यालयलाई देशकै उदाहरणीय सामुदायिक विद्यालयको रूपमा रुपान्तरण गर्ने उनको लक्ष्य छ र यसका लागि थुप्रै योजनाहरूसमेत बनाइसकेका छन् ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरू अहिले यहाँ अध्ययन गरिरहेका छन् । तर, विद्यालय त्यहीवरिपरिका स्थानीय बालबालिकाको रोजाइमा नपर्नु भने दुःखद पक्ष भएको प्रधानाध्यापक भट्ट बताउँछन् ।
‘जबसम्म यहीँका बासिन्दाका बालबालिका यहाँ पढ्न आउँदैनन्, तबसम्म हामी आफूले आफूलाई सफल मान्दैनौँ,’ प्रधानाध्यापक भट्ट भन्छन्, ‘यहाँको समुदायले हामीलाई विश्वास गरेर बच्चा पठाउनुहोस्, हामीले पढाउन सकेनौँ भने बरु हामी रिटायर्ड हुन्छौँ ।’
त्यसैले आफ्नो कार्यकालमा विद्यालयमा गर्नुपर्ने आवश्यक सुधारसँगै प्रधानाध्यापक भट्ट स्थानीय समुदायले विश्वास गर्न सक्ने विद्यालयका रूपमा रत्नराज्य माध्यमिक विद्यालयलाई रुपान्तरण गर्न चाहन्छन् । सञ्चिता देवकोटाले बैशाख ६ गते शिलापत्रमा यो समाचार प्रकाशित गरेकी छिन् ।कतिपय अभिभावकले मिडियामा आएको जस्तो नभए पनि अहिले बोर्डिङ स्कुल बलिरहेको अवस्थामा राम्रोसँग भर्ना अभियान चलेको मानेका छन् । पूर्व प्रधानाध्यापक डा.गिता खरेल नै अहिलेको विद्यालय वातावरण सिर्जना गर्न सफल भएको पनि उनीहरु बताउँछन्।
