त्रिविको ५० औँ दीक्षान्त सम्पन्न,समारोहमा स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित

मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। शनिवार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित समारोहमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले १४ हजार ३०८ जना विद्यार्थीलाई दीक्षित गरेका हुन्। ५० ‍औँ दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा समेत मनाएको छ।

दीक्षान्त समारोहमा ओली सहित त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव लगायत विद्यार्थी र अभिभावकको सहभागिता थियो। यो समारोहमा स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । उनले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदार पूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे । “आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।”

उनले अगाडी भने– “हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरूबाट सिक्नुपर्नेमा जोड दिए ।

समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा.रामप्रकाश यादवले जीवनमा सङ्घर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरू एकापसमा गाभ्ने नीति लिइएको जनाए।