सन् २०२४ को पहिलो उल्का वर्षा बिहिबार रातको ११:३० मा सुरु

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

उल्का वर्षालाई नेपालमा तारा खसेको वा तारा पोइल गएको पनि भन्ने गरिन्छ ।बिहिबार (आज)राति अत्यधिक मात्रामा उल्का वर्षा हुने भएको छ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो ।उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि नेपाली समयअनुसार राति ११ : ३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि सम्म हेर्न सकिनेछ ।

उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने नासाले जनाएको छ ।
अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान छ ।

नासाका अनुसार ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि.मि माथि वायुमण्डलमा देखिनेछन् ।